जन्मभुमि खबर ,
पोखरा ।
पोखरा–मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो ।
आगामी भदौमा तीनवर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ । वि.सं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमै बन्न नसकेको प्रमुख कुँवरले बताए ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माणको काम भइरहेको हो । पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पश्चिम खण्डमा पोखराको सेती र पूर्वी खण्डतर्फ तनहुँको मादी नदीमा सिग्नेचर पुल निर्माण भइरहेको हो ।
पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ साल वैशाखदेखि विस्तार तथा स्तरोन्नति सुरु गरिएको थियो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन) मा हालसम्म भौतिक प्रगति ८६ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने) मा ५५ दशमलव १० प्रतिशत पुगेको छ । कुल ४१ दशमलव ४५ किमी दूरीको पूर्वी खण्डमा कालोपत्रको काम सकिए पनि सडक मार्किङ, सौन्दर्यीकरणलगायत काम बाँकी रहेको जनाइएको छ ।
पूर्वी खण्डमा तेस्रोपटक थपिएको म्याद गत असार २९ मा सकिएपछि पुनःम्याद थपको प्रक्रिया अगाडि बढाइएको आयोजना कार्यालयले जनाएको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा हालसम्म ३६ दशमलव ५ किमी एकतर्फी (दुई लेन) सडकमा पहिलो तहको कालोपत्र भइसकेको प्रमुख कुँवरले बताए ।
‘२६ दशमलव ३८ किमी दूरीमा दुईतर्फी (चार लेन) नै कालोपत्र भइसकेको छ’, उनले भने, ‘एक सय पाँच वटा कल्भर्टमध्ये १०३ वटा निर्माण भइसकेका छन् ।’ पश्चिम खण्डको ठेक्का म्याद आगामी पुस १६ गते सकिने प्रमुख कुँवरले बताए ।