जन्मभुमि खबर ,
पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यार्थी सवार पर्यटक बसमा ढुङ्गा प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। आइतबार राति पोखरा महानगरपालिका-१४ चाउथेमा भएको उक्त घटनामा पाँच जना विद्यार्थी सामान्य घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, आइतबार राति करिब साढे ११ बजे पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प ९१६ नम्बरको पर्यटक बसमा ललितपुर बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीका भ्रमणमा आएका विद्यार्थी सवार थिए ।
सोही क्रममा अपरिचित व्यक्तिले बसको सिसामा ढुङ्गा प्रहार गर्दा पाँच जना विद्यार्थी सामान्य घाइते भएको सूचनाका आधारमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
घाइते विद्यार्थीहरूलाई अन्नपूर्ण अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा बसका चालक चितवन राप्ती-९ घर भई हाल पोखरा १७ घारिपाटन बस्ने ४८ वर्षीय तिलक बहादुर थापामगर, सह-चालक बारा कोल्वी-९ घर भई हाल पोखरा २६ विजयपुर बस्ने ३० वर्षीय मान प्रसाद खरेल र पर्यटन कामदार भनिएका गोरखा पालुङटार-२ घर भई हाल कास्की पोखरा १४ बस्ने २८ वर्षीय राजेश मरहट्टा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।