भक्तपुरको बालकोटमा एक महिला मृत फेला परेकी छन् । सूर्यविनायक नगरपालिका-३ स्थित एक घरमा ५० वर्षीय रोशनी शाही मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार आइतबार दिउसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।
जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइमा उनको शव फेला परेको थियो । उनका श्रीमान उपत्यका बाहिर गएका थिए। केही दिनदेखि उनी कोठामा एक्लै रहेकी थिइन् ।
प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा उनी कोठाभित्रै मृत भेटिएकी हुन् । जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा रहेको बुझिएको छ। उनको शरीरमा कुनै चोटपटक भने छैन । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। के कति कारणले मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले जबर्जस्ती करणी गरेको भन्दै शाहीले ६ वर्ष अगाडि प्रहरी अगाडि निवेदन दर्ता गराएकी थिइन्।