जन्मभुमि खबर ,
पोखरा ।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा पोखरेलका अनुसार राज्यविरुद्धको कसुरसमेतमा धवलशमशेर राणा, रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित ५० जनालाई प्रतिवादी बनाइएको छ ।
अरु ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ । यस्तै दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको शर्माले जानकारी दिए । चार जना नाबालकको हकमा अनुसन्धान भइरहेकाले बाल अदालतमा छुट्टै अभियोग दर्ता हुनेछ ।