जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अबदेखि पोखराको प्याराग्लाइडिङ पहिलाकै स्थान बाट नै हुने

जन्मभुमि खबर ,

पोखरा ।

पोखराको प्याराग्लाइडिङ पहिलाकै स्थान सराङकोटबाट बाट नै हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट पश्चिमतर्फ धकेलिएको प्याराग्लाइडिङ पुनः पूर्वतर्फ सरेको छ । नागरिक उड्डयन प्राधिकरणले साविकको अवतरणस्थल खपौदी (इन्ड अफ दी लेक) मा बिहीबारबाट अवतरणका लागि अनुमति दिएको हो ।

पहिला सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरू भएर फेवातालमाथि उड्दै खपौदीमा अवतरण हुन्थ्यो । विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उडान (टेकअफ) स्थल ५ किलोमिटर हवाई दूरीमा पश्चिमतर्फ मान्द्रेढुंगामा सरेको थियो । अवतरणस्थल खपौंदीबाट पामेमा सरेको थियो । प्राधिकरणले सुरक्षाको कारण देखाउँदै प्याराग्लाइडिङको उडान र अवतरणस्थल सारेको थियो ।

सराङकोटबाट सरेपछि तालमाथि प्याराग्लाइडिङ नहुने भएकोले उडान भर्नेको संख्यामा भारी गिरावट आएको थियो । गत वर्ष टेकअफ स्थल मान्द्रेढुंगाबाट पूर्वतर्फ तोरीपानीमा सरेपछि व्यवसायीले केही राहत महसुस गरेका थिए । अवतरणस्थल भने पामे नै थियो ।अवतरणस्थल खपौंदी सरेपछि प्याराग्लाइडिङ व्यवसाय पुरानै लयमा फर्किने व्यवसायीको अपेक्षा छ । प्याराग्लाइडिङको उडान समयसमेत बढाइएको छ । पहिले बिहान ११ बजेदेखि ३ बजेसम्म मात्रै उडान हुने गरेकोमा बिहीबारबाट दिउँसो साढे ४ बजेसम्म उडाउन मिल्ने भएको छ ।

 

नेपाल हवाई खेलकुद संस्था (ना) का उपाध्यक्ष खेमराज आचार्यका अनुसार विमानस्थल सञ्चालनमा आउनुअघि दैनिक १ हजार पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेकोमा उडान र अवतरणस्थल सरेपछि १ सयजनामा सीमित हुन पुगेको थियो । चार सयको संख्यामा रहेका प्यारा पाइलट घटेर २ सय ५० मा झरेका थिए । ६३ बटम प्याराग्लाइडिङ कम्पनीमध्ये १० वटा विस्थापित भएका थिए ।