जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको बिरौटामा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

जन्मभुमि खबर,

पोखरा ।

पोखरा महानगरपालिका–१७ विरौटास्थित आयुर्वेद पथमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मी ५७ वर्षीय ऋषिराम बरालले आफ्नी कान्छी श्रीमती ३७ वर्षीया देवी पराजुली बरालको हत्या गरेका छन । श्रीमतीको हत्या गरी आफैंले पनि आत्महत्या गरेका छन् ।

श्रीमतीको हत्या गरेपछि गम्भीर अवस्थामा भेटिएका बरालको गए राति उपचारको क्रममा मृत्यु भएको हो भने मंगलबार  ऋषिरामलाई चिकित्सकले मृत घोषणा गरेको हुन् । पाँच वर्षअघि बैंकबाट अवकाश लिएपछि बरालले कान्छी श्रीमतीलाई नयाँ घरमा ल्याएका थिए ।

छिमेकीहरूका अनुसार जेठी श्रीमतीसँग पुनः नजिकिएको थाहा पाएपछि दम्पतीबीच सम्बन्ध बिग्रँदै गएको थियो । हत्याअघि बरालले फेसबुकमा जेठी श्रीमतीसँगको तस्बिर र भिडियोसमेत पोष्ट गरेका थिए ।

श्रीमतीको अनुहारमा चोट थियो भने श्रीमानको घाँटीमा। श्रीमतीमाथि आक्रमण गरेपछि उनले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको छ ।

छिमेकीका अनुसार ऋषिरामले तीन वर्षअघिमात्र देवीसँग दोस्रो बिहे गरेका थिए । ऋषिरामको जेठीतर्फबाट एक छोरा छन्। उनकी जेठी श्रीमती र छोरा पोखरा ५, मालेपाटनमा बस्दै आएका छन् ।

कान्छीतर्फबाट भने जायजन्म भएको थिएन। पछिल्लो समय कान्छी श्रीमतीसँग पनि ऋषिरामको राम्रो सम्बन्ध थिएन। उनीहरु झगडा गरिरहन्थे ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ ।