नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ
जन्मभुमि खबर ,
पोखरा ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
एमालेबाट समानुपातिक सांसद पन्त वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका हुन् ।
यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उनको स्थानमा पन्तलाई नियुक्त गरिएको हो ।
ओलीको अघिल्लो कार्यकालमा पन्त उनका कटु आलोचक थिए ।
माधव नेपाल नेतृत्वको समूहका एक प्रभावशाली नेता पन्त अन्तिम समयमा पार्टी विभाजनको विपक्षमा उभिएका थिए ।
नवनियुक्त शिक्षामन्त्री पन्तको काँधमा तत्काल शिक्षक आन्दोलनलाई टुंग्याएर विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने जिम्मेवारी छ ।
शिक्षकहरू शिक्षा ऐनको माग गर्दै शैक्षिक हड्ताल गरेर २३ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।