जन्मभुमि खबर ,
पोखरा ।
पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ ।
जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी निकै लालायित हुने गरेको पाइएको छ । हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको पाइएको छ ।
सडक नहुँदाको तत्कालीन अप्ठ्यारो परिस्थितिमा समेत मुस्ताङमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको थियो । भारतीय अभिनेता अमिता बच्चन त्यस समयको कठिन परिस्थितिका बेला पनि मुस्ताङ आएर सुटिङ सकाएका थिए । तर, त्यसबेलाको कठिन परिस्थिति अहिले पूरै फेरिएको छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एकैदिन मुस्ताङ आएर चलचित्र सुटिङ गर्न पाइने भएकाले पनि मुस्ताङमा चलचित्र छायाङ्कनका लागि आउनेको सङ्ख्या बढ्दै गइरहेको जानकारी दिए । जिल्लामा विभिन्न देशका चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म सुटिङ गर्न सहज हुनेगरी यहाँका स्थानीय तहले सीमित राजस्व सङ्कलन गर्ने गरेको उनको भनाइ छ । उनले यसप्रकारका चलचित्रको छायाङ्कनले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको उल्लेख गरे ।
मुस्ताङको तल्लो क्षेत्र थासाङमा सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवस्थित छन् । कालीगण्डकी नदीको सुन्दर तटीय बस्ती र अनि खर्कमा चर्दै गरेका याक चौँरीका बथानले झनै चलचित्रलाई सुसज्तित पारिदिन्छ । घरपझोङ गाउँपालिकामा पर्यटकीय सांस्कृतिक गाउँ मार्फा, ठिनी, स्याङ र जोमसोममा प्राचीन संस्कृति अवलोकन गर्न पाइन्छ । यस पालिकामा ढुम्बाताल र क्षमाताल अवस्थित छ । वारागुङ मुक्ति क्षेत्रमा मुक्तिनाथ मन्दिर, कागबेनी, झोङ, तेताङ, छुसाङ, मुस्ताङ गेटलगायत स्थानमा चलचित्र छायाङ्कन गर्ने गरिएको छ ।
लोमान्थाङमा मुस्ताङी राजाको सात सय वर्ष पुरानो दरबार, गुफा, गुम्बा, माने र छोर्तेनहरु अवलोकन गर्न सकिन्छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि गुरु पद्यसम्भवले निर्माण गरेको लोघेकर गुम्बा, चराङ गुम्बा, ढाक्मर रेड पहाडलगायत यहाँका संस्कृति झल्काउने मौलिक परम्परागत बस्ती रहेको छ ।