जन्मभुमि खबर ,
पोखरा ।
विजयपुर खोलाले बगाएर बेपत्ता भएका १५ वर्षीय ओमन राईको शव बुधबार फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदी किनारमा उनको शव भेटिएको हो । खोटाङ स्थायी घर भई पोखरा–१४ चाउथे बस्ने ओमनको शव उनकी आमाले पहिचान गरेकी छन् । शवलाई पोस्टमार्टमका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा राखिएको छ ।
गत साउन ३० गते दिउँसो बजे पोखरा–१४ स्थित विजयपुर खोला तर्ने क्रममा दुई बालकलाई खोलाले बगाएको थियो । ओमनसँगै बेपत्ता भएका स्याङ्जाका १४ वर्षीय निक्सन गुरुङको शव भने यसअघि भदौ २ गते नै फेला परिसकेको थियो । निक्सनको शव घटनास्थलबाट करिब १.५ किलोमिटर तल गोरखा भिलेज पछाडि अड्किएको अवस्थामा भेटिएको थियो ।
बालकहरु बेपत्ता भएदेखि नै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली खोजीमा खटिएको थियो । सशस्त्र प्रहरी बलको नम्बर २४ गणबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा गोताखोर र रोप रेस्क्यु टोली परिचालन गरिएको थियो । ‘नदीको गहिरो खोँच र पानीको बहावका कारण खोजी चुनौतीपूर्ण थियो,’ उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भने ।