जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्‌को निर्णय

जन्मभुमि खबर ,

पोखरा ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए ।

गत बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ को निर्णयअनुसार तीन दिनभित्र सफाइ पेस गर्न पत्राचार गरेको थियो ।

मन्त्रालयले घिसिङलाई करार सम्झौताको दफा १०.३ को अवस्था उत्पन्न भएकाले सोही दफा १०.३ बमोजिम तपाईंसँगको सम्झौता अन्त्य गरी नियुक्ति रद्द किन नगर्ने भन्ने प्रश्न सोधेको थियो ।

यसमा घिसिङले कार्यसम्पादन सम्झौता बमोजिम तोकिएको लक्ष्य हासिल भएको उल्लेख गर्दै सफाइ पेस गरेका थिए। आर्थिक वर्ष २०७८/७९ र २०७९/८०को मूल्यांकित कार्य सम्पादनमा क्रमशः ९४.२३ र ९८.९४ अंक प्राप्त गरेको उनले उल्लेख गरेका थिए ।

यसैगरी सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

शाक्य यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए ।