जन्मभुमि खबर ,
पोखरा ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए ।
गत बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ को निर्णयअनुसार तीन दिनभित्र सफाइ पेस गर्न पत्राचार गरेको थियो ।
मन्त्रालयले घिसिङलाई करार सम्झौताको दफा १०.३ को अवस्था उत्पन्न भएकाले सोही दफा १०.३ बमोजिम तपाईंसँगको सम्झौता अन्त्य गरी नियुक्ति रद्द किन नगर्ने भन्ने प्रश्न सोधेको थियो ।
यसमा घिसिङले कार्यसम्पादन सम्झौता बमोजिम तोकिएको लक्ष्य हासिल भएको उल्लेख गर्दै सफाइ पेस गरेका थिए। आर्थिक वर्ष २०७८/७९ र २०७९/८०को मूल्यांकित कार्य सम्पादनमा क्रमशः ९४.२३ र ९८.९४ अंक प्राप्त गरेको उनले उल्लेख गरेका थिए ।
यसैगरी सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
शाक्य यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए ।