जन्मभुमि खबर ,
पोखरा ।
चीनको सिचुवान एयरलाइन्सले मंगलबार आजदेखि छेन्दु–पोखरा सिधा उडान थालेको छ ।
सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस-३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
१२८ जना चिनियाँ पर्यटक बोकेको उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको छ । पोखराबाट उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत छन् ।
उनीहरूले चीनको छेन्दुका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने र चीनमा पोखराको प्रवर्द्धन गर्ने उद्देश्य राखेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएको २ वर्षपछि कमर्सियल चार्टर्ड उडान सुरू भएको हो।उक्त विमान हप्तामा एक पटक पोखरा आउजाउ गर्ने सिचुवान एयरलाइन्सले जनाएको छ ।
पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न कुनै समस्या नभएको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले बताइन् ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन लगायत सबै सुविधा छ । यहाँबाट न्यारोबडी जहाज उडान र अवतरणमा कुनै समस्या छैन,’ उनले भनिन्, ‘पहिले आइसकेको सिचुवान एयरलाइन्सले मंगलबारदेखि सहजै चार्टर्ड उडान सुरू गरेको छ ।’
छेन्दुबाट पोखरा आउजाउ गर्न १ हजार २५० जना चिनियाँ पर्यटक तयार भएका छन् भने पोखराबाट चीन घुम्न जान पोखराका पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ लगायतले सहकार्य गरेका छन् ।
एयरलाइन्सले आगामी १० हप्तासम्म उडान तालिका बनाएको छ । त्यसपछि व्यवसाय हेरेर नियमित उडान गर्ने एयरलाइन्सको तयारी छ ।
पोखराबाट छेन्दु आउजाउ गर्न हवाई टिकट शुल्क ६२ हजार रुपैयाँ तय भएको छ। पोखरा–छेन्दु आउजाउ टिकटसहित ७ दिने भ्रमण प्याकेज १ लाख २३ हजार रुपैयाँ छ ।