जन्मभुमि खबर,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा ल्याइएको छ ।
सहारा चितवन सहकारी ठगी प्रकरणमा चितवन प्रहरीले सरकारी वकिलसमक्ष बयान लिइसकेपछि प्रतिनिधि सभा सदस्यसमेत रहेका रविलाई गएराति नै पुनः कास्की जिल्ला प्रहरीको हिरासतमा लगिएको हो ।
कास्की प्रहरी प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले रास्वपा सभापति लामिछानेलाई नै राति नै पोखरा ल्याइएको जानकारी दिए ।
सरकारी वकिलको कार्यालय चितवनमा बुधबार राति साढे ९ बजे बयान सकिएपछि रविलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा लगिएको थियो। त्यसपछि उनलाई गाडीमार्फत पोखरा पुर्याइएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको मुद्दामा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन यही मंसिर १३ गते काठमाडौँ ल्याइएको थियो ।
कालीमाटी मुख्य कार्यालय राखेर काठमाडौँका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेको स्वर्णलक्ष्मीको बचत गैरकानुनी रूपमा परिचालन र ठगीमा संलग्न रहेको आरोपमा रविसँग काठमाडौँ प्रहरीले मंसिर १४ देखि १७ गतेसम्म राखेर ३ दिन (बीचमा एक दिन शनिबार परेको थियो) बयान लिएको थियो ।
यसपछि उनलाई मंसिर १८ गते (मंगलबार) बिहानै चितवन पुर्याइएको थियो। त्यहाँ जिल्ला सरकारी वकिल कार्यालय, चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको रोहवरमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत ज्ञानकुमार महतोले रविसँग मंगलबार र बुधबार गरी २३ घण्टा बयान लिएका थिए ।
गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा (कास्की) लगिएका लामिछानेलाई जिल्ला अदालत कास्कीले पछिल्लो (पाँचौँ) पटक मंसिर ९ गते १५ दिन हिरासत म्याद थपेको थियो। उक्त म्याद अब मंसिर २३ गते सकिँदै छ ।