जन्मभुमि खबर ,
पोखरा ।
दार्चुलामा जात्राबाट फर्किरहेका दशनार्थी सवार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । अन्य ४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिप दुर्घटनामा परेर दुई जना भारतीय नागरिकसहित मृत्यु हुने ८ जनाको सनाखत भएको छ ।
मृतकमा भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसिम, दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, ४० वर्षीया मीना लेखक, शैल्यशिखर नगरपालिका-५ लेकका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँकी २८ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका-५ नगराउँका १५ वर्षीय सुदीप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहरा छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावलका अनुसार जिप दुर्घटनामा ४ जना घाइते भएका छन्। घाइतेमा शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ८ वर्षीय सन्दीप रावल, जिप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनील जोशी, बैतडीको डिलाशैनी गाउँपालिका-५ का २८ वर्षीय उत्तम रोकाया र भारतको पिलिभित मारुडण्डाका १७ वर्षीय सोहिन शाह छन् ।
टाउकोमा चोट लागेका जिप चालक जोशीको अवस्था गम्भीर छ। अन्य मध्यम घाइते छन्। उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
सामान्य घाइते प्रकाश रावल उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप आज बिहान शैल्यशिखर नगरपालिका-६ बकजेबलामा दुर्घटना भएको हो ।
जिपमा १३ यात्रु थिए । मालिकार्जुन गाउँपालिका-३ स्थित मालिकार्जुन मन्दिरमा लागेको रात्रिजात्रा हेरेर फर्किरहेका यात्रु चढेको जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो ।