जन्मभुमि खबर ,
पोखरा ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती बज्यै मन्दिरकी मूल पुजारी मृत फेला परेकी छन् । उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
वीरेन्द्रनगर नगरपालिका–११, की ५१ वर्षीया सरस्वती राजी मन्दिरको मूल ढोकामा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अुनसार उनी मन्दिरको मूल ढोकाको भित्रपट्टिको फलामको हत्कडीमा झुण्डिएकोमा अवस्थामा आज बिहान फेला परेकी थिइन् ।
‘म बिहान साढे ५ बजेदेखि घटनास्थलमै छु । हामीलाई घटनाको जानकारी बिहान ५ बजेतिर आएको थियो । घटनाको प्रकृति हेर्दा कुनै शंकास्पद देखिएको छैन । तर मादक पदार्थ सेवन बढी नै गरे जस्तो देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले भने ।
उनका अनुसार सरस्वतीका श्रीमान् रुद्रबहादुर राजी यसअघि मन्दिरका मूल पुजारी थिए । यद्यपि, उनको निधन भइसकेको छ ।
प्रहरी प्रमुख खड्काका अनुसार मृतकको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको छ । सरस्वतीको मृत्यु भएपछि देउती बज्यै मन्दिरमा हुने दैनिक पूजापाठ रोकिएको छ । सुर्खेतको धार्मिक एवम् पर्यटकीय रूपमा महत्त्वपूर्ण देउती बज्यैको मूल पुजारी राजीहरू रहने प्रचलन रहेको छ ।