जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज पोखराका यि रुटमा चल्नेछन निःशुल्क बस ( सुचीसहित )

जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र दसैँको आज टीकाको दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।

स्थानीय यातायात व्यवसायीहरू र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न ८ वटा रुटमा १८ बस निशुल्क सञ्चालन हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

यातायात व्यवसायीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क बस सेवा सञ्चालन गर्ने सहमति जनाएपछि टीकाको दिन सार्वजनिक यातायात चल्ने भएको हो। अघिल्ला वर्षहरूमा टीकाको दिन सार्वजनिक सवारी नचल्दा सर्वसाधारणले दुःख पाएका थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारीले भरतमणि पाण्डेका अनुसार टीकाको दिन पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिले फेदी, हेम्जा, हरिचोक र पृथ्वीचोक हुँदै चल्ने रुटमा ३ वटा बस सञ्चालन गर्नेछ ।

यस्तै, स्थानीय यातायात प्रालिले कोत्रेदेखि पृथ्वीचोक, चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म दुईवटा, पोखरा यातायात प्रालिले लामाचौरदेखि छोरेपाटनसम्म, महेन्द्रगुफादेखि लेकसाइडसम्म र काहुँखोलादेखि हल्लनचोकसम्म गरि कुल ९ बस सञ्चालन गर्नेछ ।

बेगनास पोखरा यातायात प्रालिले बेगनासतालदेखि बागलुङ बसपार्कसम्म र राजाकोचौतारादेखि बागलुङ बसपार्कसम्म ४ वटा बस सञ्चालन गर्नेछ। यी बसहरुमा निशुल्क बस सेवासहितको ब्यानर हुनेछ। बस बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने उनले बताए ।

यस्तै, चाडपर्वमा बढी भाडा लिने सवारीलाई समेत कारबाही हुनेछ । पोखरा विमानस्थलबाट लेकसाइडसम्म यात्रुलाई आठ सय रुपैयाँभन्दा बढी लिन नपाइने निर्णय भएको छ ।