जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डेंगीबाट गण्डकीमा २ महिनामा ७ जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशमा ​डेंगी सङ्क्रमणबाट हालसम्म सात जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा तीन पुरुष र चार महिला छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार डेंगीको कारण गत साउन १० गते तनहुँका ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीय पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार ७२६ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए ।

उनका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेंगी सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ। पोखरा महानगरपालिकामा मात्रै हालसम्म छ हजार चार सय ५२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।

गत जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो । अधिकृत शर्माले गत जुलाईयता सङ्क्रमण दर बढ्दै गएको बताए। जुलाईमा ७२८, अगष्टमा चार हजार ८३, र सेप्टेम्बरमा छ हजार ७२० जनामा डेङ्गु देखिएको उनले जानकारी दिए ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा छ हजार ५४८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा सङ्क्रमणको पुष्टि भएको हो । तनहुँमा २८ सय ६१, पर्वतमा एक हजार १४६, गोरखामा ६६४, बागलुङमा ५३९, स्याङ्जामा ४४३, म्याग्दीमा २१३, नवलपुरमा एक सय ८१, लमजुङमा १२० र मुस्ताङमा नौ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।

असारदेखि कात्तिकसम्म डेंगी सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् ।

समयमा उपचार नभए बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले सचेतना अपनाउनुपर्ने उनीहरूको सुझाव छ ।