जन्मभुमि खबर ,
पोखरा ।
पोखरा र बाग्लुङमा रहेको इमेज सहकारीका बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।
उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ ।
इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ ।
नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।
आफ्नो निजी सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै उनले बारम्बार सार्वजनिक अपिल जारी गर्दै आएका थिए ।