जन्मभुमि खबर ,
पोखरा ।
विभिन्न सहकारी ठगीसँगै अन्य वित्तीय अपराधको समेत अनुसन्धान गर्दै आएको सीआईबीमा विशेषज्ञ अनुसन्धान प्रहरी अधिकृतहरू रहेकाले सीआईबीलाई कास्की पठाउन लागिएको हो ।
सहकारी ठगी विशेष छानबिन समितिकै सिफारिसअनुसार सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलनका सम्बन्धमा अनुसन्धान गर्न प्रहरी टोलीलाई कास्की पठाउन लागिएको सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले जानकारी दिए ।
‘मुद्दाको मिसिल कास्की प्रहरीले नै तयार गर्छ, सीआईबीले अनुसन्धानमा प्रमाण जुटाउनेलगायत विषयमा सघाउने हो,’ उनले भने ।
सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क तत्कालीन अध्यक्ष जीबी राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक समितिका सदस्य छविलाल जोशी बन्जाडेको संलग्नता रहेको समितिको छानबिनले देखाएको छ ।
कम्पनीको संयुक्त खाता खोलेर सहकारीको रकम ल्याई अपचलन गरेको विषयमा समितिले तीनै जनाविरुद्ध छानबिन गर्न सिफारिससमेत गरेको छ ।
प्रहरीले छविलाललाई पक्राउ गरी सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद लिइसकेको छ ।