जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सक्रिय भयो मनसुन, केही दिन देशभर पानी पर्ने

जन्मभुमि खबर ,
पोखरा ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएको जनाएको छ । महाशाखाका अनुसार आगामी केही दिन देशभरको मौसममा परिवर्तन आएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुनेछ ।

महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।