जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिरामी बोकेर पोखरा आउदै गरेको एम्बुलेन्समा आगलागी

जन्मभुमि खबर ,
पोखरा ।

स्याङ्जाको वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा गएराति आगलागी भएको छ । बिरामी बोकेर पोखरा जाँदै गरेको ग १ झ २७८ नम्वरको एम्बुलेन्समा पुतलीबजार नगरपालिका –११ करेन्डाँडामा पुग्दा आगो लागेको हो ।

एम्बुलेन्समा आगो लागेपछि विरामीलाई तत्काल बाहिर निकालेको एम्बुलेन्स चालक देवप्रसाद रेग्मीले बताए । उनले भने, “एम्बुलेन्स चलिरहेको बेला गन्ध आयो र तत्काल हेर्दा मेरो बाँयातर्फ रहेको कागजात राख्ने बक्सबाट आगो बाहिर निस्कियो हामी अत्तालिदै गाडीबाट बाहिर निस्कियौं र ज्यान बचायौं ।”

आफू विगत चार बर्षदेखि सो एम्वुलेन्स चलाउँदै आएको रेग्मीको भनाइ छ । वालिङको गह्रौं प्राथमिक अस्पतालको मातहतमा रहेको सो एम्बुलेन्स टाटा कम्पनिको रहेको र २०१५ मोडल भएको अस्पतालका प्रतिनिधिहरुले जनाएका छन् । एम्बुलेन्समा कसरी आगलागी भयो भन्नेबारे बुझ्ने काम भइरहेको अस्पतालका सूचना अधिकारी उदय पौडेलले बताए ।