जन्मभुमि खबर ,
पोखरा ।
अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा गोली हानेर एक नेपाली छात्राको हत्या गरिएको छ ।
भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डेलाई आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानेर मारिएको हो ।
घटनाको खबर पाएपछि सोमबार साँझ साढे ५ बजेतिर ह्युस्टन प्रहरी घटनास्थलमा पुग्दा मुना छातीमा गोली लागेको अवस्थामा मृत भेटिएकी हुन् ।
उनलाई धेरैवटा गोली हानिएको ह्युस्टन प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।
सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पाण्डेकी आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छन् ।
हालसम्म हत्यारा पत्ता लागेका छैनन्। घटनाबारे अनुसन्धान भइरहेको ह्युस्टन प्रहरीले जनाएको छ ।