जन्मभुमि खबर ,
पोखरा ।
इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर भएको छ । इन्द्रेणी कार्यक्रमकै एक पूर्वकलाकारले आइतबार कँडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी हुन् ।
कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको तथा यौन प्रस्ताव राखेको आरोप फिरादपत्रमा लगाइएको छ । जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले मुद्दा दर्ता गरिएको पुष्टि गरे । पन्थीका अनुसार मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९, २२३, २२४ विरुद्धको कसुरमा हदैसम्मको कारबाही तथा क्षतिपूर्ति माग गरिएको छ । यस्तो कसुरमा ४ वर्षसम्म जेल सजाय हुनसक्छ ।
एक साताअघि इन्द्रेणीबाट निष्कासित ६ जना कलाकारले कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए । तीमध्ये एक महिला कलाकारले आफूमाथि यौन दुर्व्यवहारसमेत भएको बताएकी थिइन् । उनै महिलाले अदालतमा मुद्दा हालेकी हुन् ।
ती महिलाले यसअघि प्रहरीमा जाहेरी दिने प्रयास गरेकी थिइन् । उनले कँडेलविरुद्ध करणी उद्योगमा जाहेरी दिन खोज्दा प्रहरीले प्रमाण नपुग्ने भन्दै फर्काइदिएको थियो । त्यसपछि उनले शान्ति सुरक्षा पाउँ भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् । सीडीओ कार्यालयले काठमाडौं प्रहरी परिसरलाई छलफल गराउन निर्देश गर्याे । प्रहरी परिसरले बानेश्वर वृत्तलाई भन्यो । तर, महिला प्रहरीमा छलफल गर्न छोडेर अदालत पुगेकी हुन् ।
यसअघि कँडेलले गत शुक्रबार ती महिलासहित ६ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमै गाली बेइज्जतीको मुद्दा दर्ता गराइसकेका छन् ।