जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि-जीबीमाथि सम्पत्ति शुद्धीकरण विभागले थाल्यो छानबिन

जन्मभुमि खबर ,
पोखरा ।

गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र ग्लोक्सी फोर-के टेलिभिजनका तथा विभिन्न सहकारीका सञ्चालक जीबी (गितेन्द्रबाबु) राईमाथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन सुरु गरेको छ ।

विभागले उनीहरुको सम्पत्तिमाथि छानबिन सुरु गर्दै विभिन्न बैंकलाई पत्र लेख्दै उनीहरुका कारोबार उपलब्ध गराउन अनुरोध गरेको छ। यही माघ ८ गते विभागले रवि-जीबीको नाम उल्लेख गर्दै उनीहरुका बैंकिङ विवरणहरु उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेको छ । प्रारम्भिक जाँचबुझ अधिकृत भनेर हस्ताक्ष गरिएको पत्र विभिन्न बैंकहरुलाई पठाइएको छ ।

विभिन्न २० वटा बैंकलाई सम्बोधन गर्दै उनीहरुको बैंकिङ विवरणहरु उपलब्ध गराउन माग गरिएको छ। जसमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबीआई बैंक, एभरेष्ट बैंकको प्रधान कार्यालयलाई पत्राचार गर्दै उनीहरुको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।

त्यसैगरी एनआईसी एसिया, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, कृषि विकास बैंक, ग्लोबल, सिटिजन्स, प्राइम, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकका मुख्य कार्यालयहरुलाई उत्राचार गर्दै उनीहरुको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।

जीबीले नै सञ्चालनमा ल्याएको ग्यालेक्सी फोर के टेलिभिजनको प्रबन्ध निर्देशकको भूमिकामा थिए । पछिल्लो समयमा रवि विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत सहकारी ठगीको विषयमा उजुरी परेको छ।

रवि-जीबी जोडिएको सहकारीको फाइल समेत अहिले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेको छ । सहकारी ठगीमा जोडिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ।

सहकारी ठगीका मुख्य नाइके भनिएका जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत ठगी गरेको समेत आरोप छ । कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।

यो मुद्दा अहिले कास्की अदालतमा विचाराधीन छ। रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा उनीहरुविरुद्ध मुद्दा चलाइएको छ ।