जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थानकोट–चित्लाङ दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

जन्मभुमि खबर ,
पोखरा ।

थानकोट-चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार ४ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

थानकोटदेखि चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भएर शनिबार दिउँसो काठमाडौं चन्द्रागिरि-४ हिमचुली दुर्घटना भएको हो । गाडी सडकबाट ५ सय मिटर तल खसेको छ ।

गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् ।

दुर्घटनामा काठमाडौं ३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उहाँकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, उहाँका ज्वाइँ काठमाडौं-२ का डा. महेशकुमार गौतम, उहाँका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र चार वर्षीय प्रियन्सको मृत्यु भएको हो ।

घाइते स्मारिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सृष्टि तिवारी गौतम भने हाम फालेर बच्न सफल भएकी छन ।