जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केकभित्र गाँजा राखेर अनलाइनमार्फत् बेच्ने एकजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौँको घट्टेकुलोमा अनलाइनमार्फत लागु औषध कारोबार गर्ने अखडा प्रहरीले फेला पारेको छ।

लागु औषध नियन्त्रणबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२९, घट्टेकुलोबाट २६ वर्षीय विशन मानन्धरलाई लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले पुस २० गते घरबाटै पक्राउ गरिएका विशनले इन्स्टाग्राममा बम्ब डट उङ नेपाल (bamb.oong nepal) नामक अकाउन्ट बनाई अवैध लागुऔषध प्रयोग गरी मफिनलगायत केक बनाई बिक्री गर्ने गरेको पाइएको बताए।

‘विशनले आफ्नै घरमा १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकार बनाई अनलाइन डेलिभरीमार्फत आफ्नो अवैध कारोबार सञ्चालन गरिरहेका रहेछन्’, एसपी जोशीले भने ।

बम्ब डट उङ नेपाल नामक पेजका फलोअर्स ६१४ जना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार विशनको घरबाट गाँजा मिसाई तयार गरिने केकहरूको मेनुसमेत फेला पारिएको छ ।

ब्युरोले विज्ञप्तिमार्फत भनेको छ, ‘आफ्नो अवैध कारोबारलाई गोप्य रूपमा सञ्चालन गर्न डार्क वेभमार्फत निजले आफ्नो बम्बुङ पेजमार्फत गर्ने विश्वासिला व्यक्तिहरूलाई मात्र इन्ड्राइभमार्फत केकहरूको डेलिभरी गर्ने गरेको खुल्न आएको छ ।’

विशनको घरकोठाबाट गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागुऔषध गाँजा ३ केजी ७५४ ग्राम बरामद भएको ब्युरोले जनाएको छ ।

यस्तै सेतो रङको डिजिटल तराजु १, इलेक्ट्रिक ओभन १, ग्लोबल आईएमई बैंकको एटीएम कार्ड १, बेकर्स क्रियसन प्राइभेट लिमिटेडको भौचर १, काठको ट्रे १, केक बनाउने ट्रे २, चकलेट चिप्सको बट्टा १, चकलेट फ्लेबरको बोटल ५, अर्डरको सामान डेलिभरी गर्ने नीलो र रातो रङका हाते झोला पनि बरामद भएका छन् ।

ब्युरोका अनुसार चकलेट टपिङ बोतल १, चकलेट कपको बन्डल २, एडिबेल लेज बट्टा १, ब्रेड क्रम्स प्याकेट १, चकलेट पाउडर प्याकेट १, चोको चिप्स प्याकेट १, चोको चिप्स बट्टा २, चकलेट मोल्ड २, चकलेट पाउडरको बट्टा १, ओभन पञ्जा १ जोर, स्टिकर १, मैदाको पीठो बट्टा ५, चकलेट स्प्रिङकल बट्टा १, बम्बुङ नामको छाप १, चिनीको बट्टा १, चकलेट प्याकिङ गर्ने सिल्भर पेपरको झोला १, पानी टेपको रोल १ समेत बरामद गरिएको छ ।