जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी कोरोनाविरुद्धको खोप ल्याइयो

जन्मभुमि खबर ,
पोखरा ।

कोरोना भाइरसको सङ्क्रमणविरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको जनाएको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिए । उनका अनुसार खोप कोभ्याक्समार्फत बुस्टर डोजका लागि ल्याइएको हो । यसअघि गत मङ्सिर ८ गते तीन लाख ७३ हजार खोप आएको थियो ।

कोभ्याक्सले कूल सात लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो । अहिले पनि प्रदेश तहबाट बुस्टर डोजका लागि खोपको माग हुने गरेको छ । ती आएका खोपलाई प्रदेशमा पठाइनेछ ।

सरकारले अहिलेसम्म ६ करोड ६९ लाख ८३ हजार दुई सय ७० मात्रा खोप ल्याइसकेको छ । यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ११ लाख ५७ हजार पाँच सय २२ सङ्क्रमित र १२ हजार ३१ जनाको निधन भइसकेको छ ।