जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एन्टोनियो गुटेरेस पोखरामा

जन्मभुमि खबर ,
पोखरा ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् । ४ दिनको औपचारिक भ्रमणका लागि गत आइतबार बिहान काठमाडौं ओर्लिएका उनी सोमबार दिउँसो २ बजे पोखरा आएका हुन् । उनी नेपाली सेनाको जहाजमा पोखराको पुरानो विमानस्थलमा ओर्लिए ।

गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेश मन्त्री, सचिव, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलगायतले विमानस्थलमा स्वागत गरे । गुटेरेसले मंगलबार बिहान साढे ८ बजेसम्मको समय पोखरामा बिताउने छन् । पोखरा ओर्लिएसँगै उनी फेवाताल किनारको फिस्टेल लजमा पुगेका छन् । उनका लागि यो लज पुरै बुक गरिएको छ र सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

गुटेरेसले आज कसैसँग पनि भेटघाट गर्ने तालिका छैन । उनले लज परिसरमै समय बिताउने छन् । उनले चाहेमा फेवाताल अवलोकन र डुंगा सयर गर्ने व्यवस्था मिलाइएको छ । गुटेरेसलेले पोखरामा १६ घण्टा ‘सेल्फ टाइम’ बिताउने छन् ।

लजमा रात बिताएर मंगलबार बिहान साढे ६ बजे उनी नेपाली सेनाको हेलिकप्टरमा कास्कीकै अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण आधार शिविर (एबीसी)जाने छन् । त्यहाँ उनले जलवायु परिवर्तनले दैनिक जीवनयापनमा पारेको प्रभावबारे स्थानीयसँग कुराकानी गर्ने छन् । त्यसका लागि ४० मिनेट समय छुट्याइएको छ ।

एबीसी अवलोकन र स्थानीयसँग कुराकानी गरेपछि उनी साढे ७ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फर्कने छन् । त्यहाँ पत्रकारसँग कुराकानी गर्ने कार्यसूची राखिए पनि निश्चित छैन । पत्रकार सम्मेलन गुटेरेसको व्यक्तिगत इच्छामा भर पर्नेछ ।

उनी पोखरा विमानस्थलबाट सिधै भैरहवा जाने छन् । मंगलबार लुम्बिनी घुमेर उनी दिउँसो ४ बजे संघीय संसदलाई सम्बोधन गर्न काठमाडौं पुग्ने छन् । महासचिव गुटेरेस बुधबार काठमाडौंबाट फर्किने तालिका छ ।