जन्मभुमि खबर
पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै मान्द्रेढुंगा सरेको पोखराको प्याराग्लाइडिङ फेरि तोरीपानी नै सरेको छ । संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडाउन सहमति पाएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए ।
अन्तर्राष्ट्रिय उडानमा समस्या देखेपछि सराङकोट र तोरीपानीबाट हुँदै आएको उडान ५ किलोमिटर पर मान्द्रेढुंगा सरेको थियो । ‘केन्द्र, प्रदेश र स्थानीय सरकार सँगको समन्वय एवम् सहयोगमा तोरीपानीको बाहकोट, खपौदी र चंखपुर क्षेत्रमा टेकअफ ल्याण्डिङ व्यवस्थापनका लागि आवश्यक पहल गरिएको छ’ भट्टराईले भने ।
मान्द्रेढुंगा सरेपछि यहाँको प्याराग्लाइडिङ व्यवसाय नै संकटमा पुगेको थियो । ‘पर्यटकहरु प्याराग्लाइडिङ गर्नकै लागि पोखरा आउँथे । एक हिसाबले प्याराग्लाइडिङ पोखराको मुख्य ब्राण्ड बनेको थियो,’ उनले भने, ‘उडान र अवतरणको ठाउँ सरेपछि पोखरा आएका पर्यटकले पनि प्याराग्लाइडिङ गर्न छोडे ।’ पोखरामा ६२ कम्पनीहरु छन् भने ३९९ पाइलटहरु छन् ।
उनका अनुसार हाल पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको मान्द्रेढुङ्गा टेकअफ र पामे ल्याण्डिङका लागि जग्गा भाडामा लिएर सञ्चालन गरिएको छ । मनोरञ्जनात्मक उड्डयन व्यवसायलाई व्यवस्थित गर्न छुट्टै नीतिगत व्यवस्था गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पहल गर्दै आएको छ ।