जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेवातालबीचको तालबाराही मन्दिर पुनर्निर्माणपछि पुनः खुला

जन्मभुमि खबर ,

पोखरा ।

कास्कीको फेवातालबीचस्थित प्रसिद्ध तालबाराही मन्दिर पुनर्निर्माण कार्य सकिएसँगै आइतबार (असोज २५)देखि पुनः खुला गरिएको छ । मन्दिरमा दर्शन र भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् ।

पर्यटकीय राजधानी पोखरा आउने जोकोही पर्यटक तालबाराही देवीको अवलोकन र देवीको दर्शन गर्न पुग्ने गर्छन् । माछापुच्छ्रे हिमालको छाया देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडा शैलीको मन्दिरले पर्यटकलाई तान्ने गर्छ । पुनर्निर्माणमा करिब चार वर्ष लागेको छ ।

०७२ सालको भूकम्पका कारण भुइँ तलासहित तीनतले मन्दिर तीन इन्च दक्षिणतर्फ ढल्किएपछि तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले पुनर्निर्माणका निम्ति यो भत्काएको थियो । ०७९ कात्तिकमा मन्दिर भत्काइए पनि निकै सुस्त रूपमा काम अघि बढाइएको थियो । मन्दिर भत्काइएसँगै दर्शनार्थी प्रतिमामा पूजा गरेर फर्कने गरेका थिए ।

पुरानै स्वरूपमा मन्दिर पुनर्निर्माण गरिएको छ । पुनर्निर्माणका निम्ति एक करोड ४० लाख रुपैयाँ खर्च भएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले जानकारी दिए ।

उक्त मन्दिर ०१७ सालमा बनाइएको थियो । मन्दिर पुग्न ढुंगा चढेर जानुपर्छ ।

विक्रम संवत् १६६८ मा कास्कीका राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर यसको स्थापना गरेका किंवदन्ती छ । ०१७ सालमा राजा महेन्द्रले पोखरा भम्रणका बेला झुप्रोको मन्दिर देखेपछि त्यसलाई पक्की स्वरूपमा बनाउन लगाएका थिए ।

तालबाराही मन्दिर तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । तालमा माछापुच्छ्रे हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृंखला, सराङकोट, विश्वशान्ति स्तूपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको छ ।