जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

इजरायलमा रहेका नेपालीलाई ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्दै

जन्मभुमि खबर
पोखरा ।

सरकारले इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई स्वदेश ल्याउन नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ ।

इजरायलमाथि प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गरेपछि उद्धारका लागि गुहारिरहेका नेपालीलाई लिन आज राति ११ बजे जहाज पठाउन लागिएको हो ।

नेपाल एयरलाइन्सको जहाज राति ११ बजे काठमाडौंबाट उड्ने परराष्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । नेपाल एयरलाइन्सको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जाने उनले जनाए ।

आजै बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्ड्यन प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का प्रमुखलाई बोलाएर नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

इजरायल र हमासबीचको संघर्ष जारी रहेकाले त्यहाँ रहेका नेपालीले असुरक्षित महसुस गरेका छन् । सुरक्षा जोखिममा रहेका ३५० भन्दा बढी नेपाली विद्यार्थीले स्वदेश फर्कन अनलाइनमार्फत फारम भरेको तेल अबिबस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । अध्ययनसँगै कामका लागि इजरायल पुगेका नेपाली विद्यार्थीले छिटोभन्दा छिटो उद्धारका गर्न सरकारलाई आग्रह गरिरहेका छन् । दूतावासले इजरायल-गाजा सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

हमासले गत शनिबार बिहान गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमासको आक्रमणमा परी घाइते भएका चार नेपालीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको दूतावासले जनाएको छ । साथै बेपत्ता रहेका एक नेपालीको खोजी कार्य भइरहेको जानकारी दिएको छ ।