जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमाले गण्डकी प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा एमालेको गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।  निर्वाचन समितिका प्रमुख सुरेन्द्र थापाका अनुसार नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो ।

मतदानका लागि हिजो उमेदवारी मनोनयन भएको थियो । अध्यक्ष पदका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

नवराज एमाले गण्डकीका हालका अध्यक्ष समेत हुन् भने मायानाथ एमाले केन्द्रीय सदस्य हुन् । शर्मालाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङको साथसमर्थन रहेको छ भने अधिकारीलाई स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायतका नेताहरूको साथ छ ।

शर्मा र अधिकारीले अघोषित रूपमा आआफ्नो प्यानल तयार गरेर ५ पदाधिकारीमा छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्तापछि अध्यक्षका उम्मेदवार मायानाथ अधिकारीले मतदानमार्फत हुने नेतृत्व चयनलाई लोकतान्त्रिक र स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने बताए । ‘यो लोकतान्त्रिक र स्वाभाविक प्रक्रिया हो’, अधिकारीले रातोपाटीसँग भने, ‘निर्वाचनमा जानुलाई अन्यथा लिन मिल्दैन ।’ अधिकारीले आफ्नो पक्षमा नतिजा आउनेमा ढुक्क रहेको सुनाए ।

अध्यक्षका अर्का प्रत्याशी नवराज शर्माले पनि अब मतदानमार्फत नै नेतृत्वको टुङ्गो लाग्ने बताए । यद्यपि उनले सहमतिका लागि प्रयासहरू भइरहेको भन्दै सहमति नजुटे प्रतिस्पर्धामा जानुको विकल्प नभएको बताए । ‘उम्मेदवारी दर्ता गरिएको छ । सँगसँगै सर्वसम्मतको प्रयास पनि भइरहेको छ । त्यसो हुन नसके मर्यादित हार्दिकताको वातावरणमा निर्वाचनमा प्रतिस्पर्धा हुन्छ । ’

पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व चुन्नेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधिले भाग लिएका छन् ।