जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा रात्रिकालीन व्यवसाय गर्ने कर्मचारीलाई प्रहरीको प्रशिक्षण

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा रहेर विभिन्न रात्रिकालीन व्यवसायमा आबद्ध महिला कर्मचारीहरूलाई कास्की प्रहरीले प्रशिक्षण दिएको छ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा ‘राइट फर चिल्ड्रेन’ संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले प्रशिक्षण दिएको हो।

डान्स बार, क्लब, दोहोरी साँझ, होटल लगायतका व्यवसायहरूमा आबद्ध महिला कर्मचारीहरूका साथै सञ्चालकहरूलाई कार्यस्थलमा हुन सक्ने महिला हिंसा, यौन दुर्व्यवहार, महिलामाथि हुन सक्ने विविध घटनाहरूको विषयमा सुरक्षात्मक एवं कानुनी सचेतनामूलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए।

‘पोखरामा चलिरहेका विभिन्न रात्रिकालीन व्यवसायहरूमा ठुलो संख्यामा महिला कर्मचारीहरू कार्यरत हुनुहुन्छ। रातीको समयमा महिला कर्मचारीहरू झनै जोखिममा पर्न सक्नुहुन्छ’, उनले भने, ‘कार्यस्थलमा आउन सक्ने जोखिमहरू, तिनीहरूको कानुनी उपचारको बाटा, यौन हिंसाभित्र पर्ने क्रियाकलापहरूको बारेमा उहाँहरूलाई जानकारी दिइएको छ।’

कार्यक्रममा प्रहरी नायव उपरीक्षक विकले सुरक्षात्मक एवं कानुनी सचेतना मूलक प्रशिक्षण प्रदान गरेका थिए भने प्रहरी निरीक्षक समीक्षा घिमिरे र अभिवक्ता कुन्जनी परियारले सहजीकरण गरेका थिए।