जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरासँग जोडियो सहश्राव्दी पदमार्ग

जन्मभुमि खबर ,
पोखरा ।

पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । सन् २००० देखि सञ्चालनमा आएको तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दुरीको उक्त पदमार्गले यसअघि पोखरा महानगरपालिकालाई छोएको थिएन ।

पदमार्गको हालै गरिएको नयाँ नक्शाङ्कनले पोखरा महानगरपालिकासँग पनि जोडिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । “यसअघि सन् २०१२ मा गरिएको नक्शाङ्कनमा पोखरा मिलेनियम ट्रेकसँग जोडिएको थिएन”, उनले भने, “उक्त नक्शाङ्कनमा केही समेट्नै पर्र्ने स्थान छुटेकाले पुनः नक्शाङ्कन गरिएको हो, यसको प्रारम्भिक खाका (ड्राफ्ट) आइसकेको छ ।”

पुनः नक्शाङ्कन कार्य भूगोल विषयका सहप्राध्यापक डा रामजी पोखरेलको नेतृत्वमा तयार गरिएको जानकारी दिँदै गुरुङले यसलाई चाँडै नै अन्तिम रुप दिएर सार्वजनिक गरिने बताए । नयाँ नक्शाङ्कनमा पोखरा महानगरपालिका–३३ को भरतपोखरीबाट निर्मलपोखरी, स्याङजाको टक्सार हुँदै शुक्ला गण्डकी नगरपालिका–१२ लामागाउँ जोडिएको उहाँले जानकारी दिए ।

योसँगै मिलेनियम ट्रेकमा पछिल्लो समयमा कृषि पर्यटनका विषयमा चर्चा कमाएको भरत पोखरीको बागमाराबाट पदयात्री मिलेनियम ट्रेकको लामागाउँ खण्डमा जोडिन सक्ने गुरुङको भनाइ थियो । “यसले भरत पोखरी र निर्मल पोखरीका पर्यटकीय गन्तव्यलाईसमेत प्रवद्र्धन गर्ने भएको छ”, उनले भने , “नयाँ नक्शाङ्कनले प्रचारप्रसारको अभावमा ओझेलमा परेका भरत पोखरीको मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुमको महारुद्रथान फोक्सिङकोट आदि धार्मिक एवम् पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।”

समितिका महासचिव गुरुङका अनुसार नयाँ नक्शाङ्कनमा यस अघि छुटेका तनहुँकै धार्मिक पर्यटकीयस्थल च्यवनधाम, वंशु पार्क, तमु हिल पार्क आदि सांस्कृतिक एवम् ऐतिहासिकस्थल समेटिएका छन् । समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार सात सय १५ मिटर उचाइसम्ममा रहेको यो पदमार्ग उच्च पहाडी स्थानमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि पनि उपयुक्त मानिन्छ ।

पदमार्गको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले रू १० लाख तथा पदमार्गमा सिँढीबाटो निर्माणका लागि रू ५० लाख छुट्याएको छ । चालु आर्थिक वर्षमा मिलेनियम ट्रेकका लागि गण्डकी प्रदेश सरकारले रू २० लाख विनियोजन गरेको महासचिव गुरुङले जानकारी दिए ।