जन्मभुमि खबर ,
पोखरा ।
मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा डक्टरहरुलाई साफ चुटेर आएँ भन्दै भीडलाई उक्साएको आरोपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठलाई निलम्बन गरिएको छ ।
कास्की जिल्ला प्रहरी कार्यालय कास्कीले श्रेष्ठको निलम्बन सिफारिस गरेको हो । जिप्रकाले श्रेष्ठलाई निलम्बनको सिफारिस गृह मन्त्रालयलाई गरेको हो । उनीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ ।
साेमबार मणिपाल अस्पतालमा उपचारचार ५७ वर्षीया सुकमाया दुराको निधन भएको थियो । त्यसपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भएको थियो । चिकित्सकमाथि हातपात भएको बन्दै चिकित्सकहरु आन्दोलित छन् । मणिपालमा भर्ना भई उपचार गराइरहेका अरु बिरामीहरुको उपचार पनि प्रभावित भएको छ । चिकित्सकहरुले आफूहरुको मनोबल गिरेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
मणिपालमा शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जनाएका छन् ।
यस्तै गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेद जोशीको समय नपुग्दै सरुवा गरेको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार गृह मन्त्रालयले नै जोशीलाई सरुवा गरिदिएको हो ।