राष्ट्रपति निर्वाचन : मतदान सकियो, ४ बजेदेखि मतगणना फरार अभियुक्त सांसद कोइरीसहित १७ सांसद मतदानमा अनुपस्थित
राष्ट्रपति चयनका लागि भएकाे मतदान सकिएको छ ।
राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धी बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको बताइएकाे छ ।
बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने निर्णय बैठकमा भएको छ ।
नेपाल प्रहरीको फरार सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनकाे मतदान प्रक्रियामा अनुपस्थित भएका छन् ।
प्रतिनिधिसभाका चार सिट खाली रहँदा २७१ र राष्ट्रियसभाका ६९ जना सांसदले मतदान गर्नुपर्नेमा सबै सांसदले मतदान भने गरेनन् । संघीय संसदका ३३० मध्ये ३१३ सांसदले मात्र मतदान गरेका छन् ।
राप्रपा र नेमकिपाले घोषित रुपमै चुनावमा भाग लिएनन् । उता कांग्रेसका सांसद चन्द्र भण्डारी उपचारका लागि भारतमा रहेकाले उनले पनि मतदान गरेनन् । राप्रपाका १४ र नेमकिपाका एक जनाले मतदान गरेनन् ।