जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रदेश १ को नाम ‘कोशी’

प्रदेश नम्बर १ को नाम ‘कोशी’ पारित भएको छ । बुधबार प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम ‘कोशी’ राख्ने प्रस्ताव पास गरेको हो ।

पहिलो बैठक सकिएर दुई घण्टापछि बसेको दोस्रो बैठकबाट मत विभाजन प्रक्रियाबाट प्रदेशको नामकरण गरिएको थियो । कोशी प्रदेशको पक्षमा ८२ मत खस्दा विपक्षमा ४ मत खसेको छ । मतदान प्रक्रियामा ६ जना अनुपस्थित भए ।

‘कोशी’ को पक्षमा सत्तारूढ नेकपा एमालेको प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले समर्थन जनाउँदा प्रदेश नामकरण दुई तिहाईभन्दा बढी मतले पारित भएको हो।

९३ सदस्यीय प्रदेश सभामा बुधबार मतदानमा ८७ सहभागी रहेका थिए । मतदानमा अनुपस्थित हुनेमा जनता समाजवादी पार्टी (जसपा) की सांसद तथा मन्त्री निर्मला लिम्बू, राप्रपाकी सांसद सविना बजगाईं, कांग्रेसका सांसद भीम पराजुली र माओवादीका राजन किराँतीलगायत सांसदहरु अनुपस्थित थिए।

नामाकरण भएको खुसियालीमा कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले विज्ञप्ति निकालेर आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो । प्रदेश सभाको हिजोको बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी नामाकरण गरेको हो ।