पत्रकार थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कारको रकम मानव सेवा आश्रमलाई प्रदान
पोखरा ।
पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कारको रकम पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । शनिबार कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो पत्रकार थापालाई व्यावसायीक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।
पत्रकार थापाले आइतबार आश्र मै पुगेर आफूले प्राप्त गरेको नगद ११ हजार १ सय १० रुपैयाँ आश्रमकी कास्की जिल्ला सहसंयोजक सम्झना बर्तौलालाई हस्तान्तरण गरेका हुन् । मानवसेवाको उत्कृष्ट कर्म गरिरहेको आश्रममा आश्रित सहयोगापेक्षी जीवनको सहयोगार्थ आफूले प्राप्त गरेको पुरस्कार अर्पण गरेको पत्रकार थापाले बताए ।
‘जीवन महत्वपूर्ण छ, त्यसमाथि मानव जीवन यो केवल आफ्ना लागि मात्र होइन रहेछ,’ पत्रकार थापाले भने, जीवन अरू कसैको दुख र अभावमा बाँडेर जिउनुको आनन्द बेग्लै हुँदो रहेछ ।’
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले सामाजिक सेवाको कुनै मूल्य र सीमा नहुने बताए । एक जना श्रमजीवीको समाजप्रतिको दायित्व र कर्तव्य पालनाको ज्वलन्त उदाहरणका रूपमा आफूले यसलाई लिएको उनले बताए ।
पोखरा महानगरपालिका वडा नं.८ का वडाध्यक्ष रुद्रनाथ बरालले पत्रकार थापाले गरेको सहयोगलाई सिंगो पत्रकारिताको प्रतिनिधिका रूपमा बुझ्न आग्रह गरे । कपडा व्यवसायी एसोसिएसन कास्की अध्यक्ष गजेन्द्रमान श्रेष्ठले यो आफ्ना लागि निकै ठूलो आश्चर्यको विषय भएको बताए ।