जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माछापुच्छ्रे गाउँपालिका लुम्ले मतदान केन्द्रमा मतपेटिका फुटाउने एकजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

कास्की निर्वाचन-३ स्थित माछापुच्छ्रे गाउँपालिका–८ को लुम्ले मतदान केन्द्रमा मतपेटिका फुटाउने एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा नेकपा बहुमत पार्टीका इलाका समिति सदस्य सूर्य परियार रहेका छन् ।

निर्वाचन विरोधी अभियान चलाएको धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले मतदान कार्य विथोल्ने क्रममा उक्त मतदान केन्द्रको प्रतिनिधिसभा अन्तर्गतको मतपेटिका फुटाएका हुन् । मतपेटिका फुटेपछि मतपत्र छरपस्ट भएका थिए । उक्त केन्द्रमा एकसय मत खसेपछि उक्त घटना भएको हो । छरपस्ट मतपत्रलाई सर्वदलीय सहमतिका आधारमा मुचुल्का उठाइ प्याक गरिएको र मतदान कार्य सूचारु रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । ती मतपत्र पनि मान्य हुने गरी राखिएको उनले बताए ।

स्थानीयका अनुसार अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई मतदान केन्द्रको ३/४ सय मिटर नजिकसम्म सवारी साधनमा लैजानु पर्ने भन्दै सर्वदलीय छलफलले निर्णय गरेको थियो । तर एकजना सुरक्षाकर्मीले उक्त कुरा मान्य नहुने भनेपछि विवाद उत्पन्न भइ एजेन्ट लगायत सबैजना उक्त विवादतर्फ लागेका बेला परियारले मतपेटिका फुटाइदिएका थिए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर खनालको टोली पुग्न लागेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिएका छन् ।