जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ९ क्षेत्रमा १०८ जनाको उम्मेदवारी

जन्मभुमि खबर ,
पोखरा ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि कास्कीका प्रत्यक्षतर्फका ९ क्षेत्रमा १०८ जनाको उम्मेदवारी परेको छ । मुख्यत यहाँ एमाले र गठबन्धनका उमेदवारबीच नै प्रतिस्पर्धा हुनेछ ।

प्रतिनिधिसभाका ३ तथा प्रदेशका ६ क्षेत्रमा एमालेले एकल उम्मेदवारी
दिएको छ भने गठबन्धनले भागबन्डाको आधारमा साझा उमेदवार खडा गरेको छ ।
तीनवटा क्षेत्रमा बागी उम्मेदवारी पनि परेको छ ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार १०८ जनाको उम्मेदवारी

दर्ता भएको हो ।

कास्कीको प्रतिनिधिसभा क्षेत्र १ मा १७ जनाको उमेदवारी परेको छ । यहाँ ठुला दल एमाले र कांग्रेसका जिल्ला अध्यक्ष नै आमनेसामने छन । कास्की कांग्रेस सभापति किशोरदत्त बराल र एमाले अध्यक्ष मनबहादुर गुरुङबीच यहाँ प्रतिस्पर्धा हुँदैछ । गुरुङ यसअघि प्रदेशसभा सांसद थिए । बरालको भने यो पहिलो संसदीय चुनाव हो । उनीहरूबाहेक साना दल र स्वतन्त्र गरी थप १५ जनाको उम्मेदवारी परेको छ ।

प्रदेशसभातर्फ १ (क) मा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी चुनाव लड्दैछन । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका दीपक कोइराला छन् ।

कोइराला अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उमेदवार उनै अधिकारीलाई जिताउन लागिपरेका थिए । त्यतिबेला प्रतिनिधिसभामा अधिकारीले जित निकाल्दा कोइराला प्रदेशसभामा विजयी भएका थिए । अघिल्लो निर्वाचनका सहकर्मी नै यतिबेला प्रतिस्पर्धामा उत्रिएका हुन् ।

१ (ख) मा कांग्रेसका दीपक गुरुङकाे र एमालेका वेदबहादुर गुरुङसँग प्रतिस्पर्धा हुनेछ । वेदबहादुर यसअघि मादी गाउँपालिकाका प्रमुख थिए । गुरुङ बाहुल्य यो क्षेत्रमा दुई उमेदवारबीचको प्रतिस्पर्धा रोचक हुनेछ । कांग्रेसका गुरुङ  तरुण दलका उपसभापति हुन् । यो उनको पहिलो चुनाव हो ।

प्रतिनिधिसभा क्षेत्र नं. २ लाई एमालेले आफूले जित्ने क्षेत्रको सूचीमा राखेको छ । यहाँ एमालेबाट स्व. रविन्द्र अधिकारी पत्नी विद्या भट्टराई प्रतिस्पर्धा गर्दैछिन् । विद्या यसअगाडि पनि प्रतिनिधिसभाको उपनिर्वाचनमा यसै क्षेत्रबाट विजयी भएकी थिइन् ।

उनको प्रतिस्पर्धा नेकपा (एकीकृत समाजवादी)का नेता श्रीनाथ बरालसँग हुँदैछ । कुनैबेला कास्कीको एमाले निर्वाचन हाँक्ने बराल माधव नेपालले पार्टी विभाजन गरेसँगै समाजवादीमा लागेका थिए । एमालेभित्र पेलानमा परेका बरालले समाजवादीमा लागेपछि टिकट पाएका हुन् । बराल पहिलोपटक चुनावमा भिड्दैछन् ।

यही क्षेत्रमा कांग्रेसका पुराना नेता महादेव गुरुङले बागी उमेदवारी दिएका छन् ।

२ (क) लाई एमालेले आफ्नो गण्डकी प्रदेशभरिकै सुरक्षित क्षेत्र मान्छ । गठबन्धन भएतापनि यहाँ चुनाव जित्न सकिने आकलन उसको छ । एमालेले यहाँ केन्द्रीय सदस्य भीम कार्कीलाई उमेदवार बनाएको छ ।

एमाले कास्की इञ्चार्ज कृष्ण थापा यसअगाडि यो क्षेत्रबाट निर्वाचित भएका थिए । पदमा बहाल रहेकै अवस्थामा पार्टीले उनलाई पोखरा महानगरपालिकाको उमेदवार बनायो । तर, थापा पराजित बन्न पुगे । कास्की एमालेभित्रको अन्तर्घातले चुनाव हारेको विश्लेषण एमालेमा एकपक्षका नेताले गर्दै आएका छन् । स्थानीय चुनावको पराजयको तिक्तता यसपटक मेटाउने दाउमा छन, कार्की ।

उनीसँग माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने चुनावमा भिड्दैछन् । फेवातालको संरक्षणबारे सर्वोच्चमा मुद्दा दायर गर्ने लामिछाने स्थानीय तह चुनावमा महानगरको उमेदवारका पनि आकांक्षी थिए । त्यतिबेला उनले टिकट नपाएपनि माओवादीले अहिले प्रदेशसभामा उनलाई अगाडि सारेको छ ।

टिकट पाउनुअगाडि २ (ख) सबैभन्दा बढी चासो र चर्चामा थियो । गण्डकीका दुई बहालवाला मन्त्रीको एउटै क्षेत्र र दुवैले आफूलाई आगामी मुख्यमन्त्रीको रुपमा अगाडि सारेका थिए ।

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का र प्रदेशसभा तथा कानुनमन्त्री विन्दुकुमार थापाको क्षेत्र यही हो ।

अघिल्लोपटक कांग्रेसले कास्कीका सबै क्षेत्र गुमाउँदा विन्दुकुमार थापाले मात्रै चुनाव जितेका थिए । अर्कातर्फ मन्त्री खड्काको पनि यही क्षेत्रमा दाबी थियो । तर, थापाले टिकट पाए । थापाले टिकट पाउँदा मन्त्री खड्काको संसदीय राजनीतिको च्याप्टर अहिलेका लागि क्लोज भएको छ ।

एमालेले यो क्षेत्रमा समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी मीना गुरुङलाई टिकट दिएको छ ।

गठबन्धनका उमेदवारविरुद्ध बागी परेको अर्को क्षेत्र कास्की ३ पनि हो । यहाँ गठबन्धनका तर्फबाट माओवादीका रामजीप्रसाद बराल जीवन उमेदवार छन् । उनी गण्डकीका अर्थमन्त्रीसमेत हुन् ।

गठबन्धनको भागमा ३ नं. क्षेत्र परेपछि माओवादीले बराललाई अघि सारेको हो । बरालविरुद्ध माओवादीकै अनिता भुर्तेलले बागी उमेदवारी दिएकी छन् ।

एमालेले यहाँ जिल्ला अध्यक्षमा पराजित भएका दामोदर वैरागीलाई अगाडि सारेको छ ।

३ (क) मा माओवादीका उमेदवार दुर्गादत्त भण्डारीले उमेदवारी दिएका छन् । फरक क्षेत्रका व्यक्तिलाई टिकट दिएको भन्दै माओवादीका तीनदर्जन नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

एमालेले यो क्षेत्रमा गणेशमान गुरुङलाई टिकट दिएकाे छ । उनी पछिल्लो समय जसपाबाट एमाले प्रवेश गरेका हुन् ।

३ (ख) मा कांग्रेसले गण्डकी कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव प्रकाश बराललाई अगाडि सारेको छ । सभापति शुक्रराज शर्माको जोडबलमा टिकट पाएका बरालसँग एमालेका राजीव पहारी भिड्दैछन । राजीव यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।