प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता आज
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत आज मनोनयनपत्र दर्ता हुँदै छ । यसका लागि निर्वाचन आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उमेदवारको बन्दसूची पनि आयोगमा बुझाइसकेका छन् ।
प्रत्यक्षतर्फ आज उमेदवारको मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित गएर मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।
आज बेलुका ५ देखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरिएको उमेदवारको सूची प्रकाशन गरिने कार्यतालिका छ ।
असोज २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ ।
असोज २६ गते दिउँसो १ देखि ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ । आयोगका अनुसार सोही दिन अपराह्न ४ देखि बेलुका ७ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।