जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा नवजात शिशु फ्याँकेर फरार महिला पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको घटनामा शिशुकी आमा पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत कात्तिक ३ गते साँझ करिब ७ः४० बजे लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा रहेको शौचालयको च्याम्बरमा नवजात शिशुको शव फेला परेको थियो । शौचालय जाम भई पानी बाहिर ननिस्किएपछि घरधनीले च्याम्बर खोलेर हेर्दा भर्खरै जन्मिएको सालनालसहितको पुरुष शिशु मृत अवस्थामा फेला पारेका थिए ।

घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा लासजाँच मुचुल्का गरी शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आशंकामा १९ वर्षीया निरुता नेपालीको खोजी गरिएको थियो। उनी कास्कीको पोखरा महानगरपालिका–२१ कृष्ती माइतीघर भएकी तथा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थायी ठेगाना भई हाल पोखरा–६ लेकसाइडमा भाडामा बस्दै आएकी थिइन् ।

प्रहरीले उनलाई कात्तिक ४ गते राति १ः१५ बजे पोखरा महानगरपालिका–२१ लुकुन्स्वाराबाट पक्राउ गरेको जनाएको छ। पक्राउपछि उनको चिकित्सकबाट स्वास्थ्य परीक्षणसमेत गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निरुता नेपालीको स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ निवासी राजन सार्कीसँग २०७८ सालमा सामाजिक परम्पराअनुसार विवाह भएको खुलेको छ।

पक्राउ परेकी नेपालीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।