जन्मभुमि खबर ,
पोखरा ।
वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ ।
पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक÷एक हजार भेडाच्याङग्रा पोखरा ल्याइसकिएको छ । अझै केही भेडाच्याङग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक–दुई दिन अगाडिसम्म बजारमा आइपुग्ने उनले जानकारी दिए । गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ । पशु चिकित्सक अधिकारीले भन्नुभयो“दशैँका लागि पोखरामा भेडाच्याङग्रा आइसकेका छन् । कतिपय व्यापारीले हाटबजारमा ल्याइसकेका छन् भने धेरैले पोखरावरपरका चरन क्षेत्रमा राखेका छन् । ती भेडाच्याङग्रा एक–दुई दिनमा हाटबजारमा ल्याउने जानकारी पाएका छौँ ।”
हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका च्याङग्राको मासुको माग दशैँका बेला पोखरा तथा आसपासका क्षेत्रमा उच्च हुने गर्दछ । पोखरामा भेडाच्याङ्ग्राका अतिरिक्त सुर्खेत, अर्घाखाँची, दाङ, पाल्पा र तनहुँलगायतका जिल्लाबाट समेत ठूलो संख्यामा खसीबोका ल्याएर बिक्री गर्ने गरिन्छ । मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट ११ दिन लगाएर च्याङग्रा पोखरा ल्याइपुर्याएको बताए। उनका अनुसार केही स्थानमा पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर ल्याइएको हो । यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाइ भोग्नुपरेको उनले बताए ।
उनले भने “यसपटक कहिले पानीले सतायो, कहिले बाढीले समस्या भयो । पहिले बजार राम्रो थियो, अहिले बजार पनि राम्रो छैन ।” बाटोमा विभिन्न स्थानीय तह तथा पशु सेवा कार्यालयमा तिर्नुपर्ने शुल्क र चरनका लागि समेत रकम खर्च गर्नुपर्ने भएकाले च्याङग्राको मूल्य महँगो पर्ने गरेको उनको भनाइ छ ।