जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको मोदीखोलामा बाढी : मन्दिरमा फसेका तीनजनाको उद्धार, सडक अवरुद्ध

जन्मभुमि खबर ,

पोखरा ।

कास्कीमा मोदीखोलामा बाढी आउँदा मन्दिरमा फसेका तीनजनाको सकुशल उद्धार गरिएको छ ।

शुक्रबार (साउन २९) बिहान करिब २ः१५ बजे अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना नयाँ पुल–वीरेठाँटी जाने सडकखण्डछेउमा मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा आवतजावत गर्ने दुई पुल बाढीले बगाएको थियो । मन्दिरको आधा भाग पनि बाढीले बगाएको थियो । त्यससँगै मन्दिरमा रहेका एक पुजारी र दुई भक्तजन गरी तीनजना त्यहाँ फसेका थिए ।

त्यसपछि सशस्त्र प्रहरी बल नेपालको रोप रेस्क्यु तथा गोताखोरसहितको टोली उद्धार कार्यमा खटिएको थियो । रोप रेस्क्युको विधिबाट शुक्रबार बिहान ७ः५५ देखि ०८ः१५ बजेसम्मको समयमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।

uddhar-modi-khola3-1786681823.jpg
उद्धार गरिएका व्यक्तिहरू ।

उद्धार गरिएका व्यक्तिहरूमा कास्कीकै पोखरा महानगरपालिका–१८, सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, अन्नपूर्ण–८ स्थित वीरेठाँटी माविका शिक्षक सर्लाहीका ३० वर्षीय रेवन्तप्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षीय भारतीय नागरिक निर्माण गिरी छन् ।

यस्तै, अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडकखण्डअन्तर्गत विभिन्न स्थानमा करिब ३००/४०० मिटर बाटो बाढीले बगाएको छ । त्यहाँ सडक अवरुद्ध छ । नयाँपुलस्थित विद्युत् पोल समेत बाढीले बगाएको छ । सोही कारण त्यहाँ विद्युत् सेवा अवरुद्ध रहेको सशस्त्र प्रहरीले जनाएको छ ।