जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीबाट दोहोरो नागरिकता लिने पुरुष पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा । दोहोरो नागरिकता लिएको आरोपमा एक व्यक्तिलाई कास्की प्रहरीको जिम्मा लगाइएको छ । कास्की प्रशासनले झुटा विवरण पेस गरेर दोहोरो नागरिकता लिएका हिराधन पुनलाई प्रहरीकोमा बुझाएको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जारी गरेको विज्ञप्तिमा पुनले रुकुम जिल्लाबाट २०४७ सालमा नागरिकता लिएता पनि झुटो विवरण पेस गरेर कास्कीबाट २०५८ सालमा अर्को नागरिकता बनाएको उल्लेख छ ।

उनले २०४७ फागुन २९ गते रुकुमबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको देखिएको छ । त्यसको ११ वर्षपछि २०५८ वैशाख २० गते कास्की प्रशासनबाट दोस्रोपटक नागरिकताको प्रमाणपत्र लिएका थिए । दोस्रोपटक नागरिकता लिँदा पुनले आफ्नो वास्तविक नाम, थर, जन्ममिति, जन्मस्थान, स्थायी ठेगाना र बाबुको नाम थर समेतको विवरण फरक पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धानबाट पुनले फरक विवरण पेस गरी दोहोरो नागरिकता लिएको पुष्टि भएकाले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको बरालले जानकारी दिए ।

प्रशासनले यो विषयमा थप कानुनी कारबाही अघि बढाउन र वास्तविकता पत्ता लगाउन प्रहरीलाई पत्राचार गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रशासनले बताएको छ ।