जन्मभुमि खबर ,
पोखरा ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाँडामा गत माघ ३ गते राती एक युवतिको हत्या भएको घटनामा संलग्न भएको आरोपमा उनकै श्रीमान पक्राउ परेका छन् ।
राती घरबाट सौचालय जान निस्केकी २० बर्षिया पुनमाया विकलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा निजका श्रीमान पोखरा महानगरपालिका– २३ ठुलाखेत स्थाइ घर भइ हाल सिर्जनाचोक बस्दै आएका प्रेम भनिने रमेश कामीलाई प्रहरीले पोखरा–१७ बिरौटाबाट पक्राउ गरेको छ ।
३ बर्ष अगाडी प्रेम विवाह गरेका दुबै बिच केही बिषयमा बिवाद बढे पछि पुनमायाले बेवास्ता गरी माइतीमा बसेकी थिइन् । सन्की स्वभावका रमेशले दैनिकजसो पिट्ने गरेपछि उनी माइतीमा बस्दै आएकि थिइन ।
‘‘उनीहरुबिच केही महिनायता बैबाहिक सम्बन्धमा खटपट आएको रहेछ, माइतमा बस्दै आएकी पुनमायालाई योजनाबद्ध तवरले पोखराबाट ढोरपाटन हुँदै झिनडाँडा स्थित माइतीघरको बाहिर कुरेर रातको समयमा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका हुन् । , ज्यान सम्बन्धि कसुर मुद्धामा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमती लिएर थप अनुसंधान गरिरहेका छाँ’’–प्रनाउ थापाले भने ।
पक्राउ परेका कामीले श्रीमतीको हत्या गर्दा प्रयोग गरेको रगत जस्तो रातो दाग लागेको कम्ब्याट, रेड्मी मोबाइल फोन तथा एनसेल र एनटिसीका सिम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । गत माघ ३ गते राती करिब ११ बजेको समयमा शौचालय गएकी पुनमाया विकलाई घरबाट बाहिर निस्कने क्रममा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा उपचारका लागि प्रदेश अस्पताल म्याग्दी, बेनीमा ल्याइएकोमा उपचारकै क्रममा सोही राति करिब २ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा विभिन्न अनुसंधान विधि र प्रविधिको प्रयोग गरी अनुसंधान गर्दा निजकै श्रीमानको संलग्नता देखिएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले पोखराको बिरौटाबाट कामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।