जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा शनिबार देखि बिजुलीको लाइन नकाटिने ,मौसम सुधार भएपछि मात्र काम अघि बढाइने

जन्मभुमि खबर ,

पोखरा ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले पूर्वनिर्धारित सटडाउन तालिका स्थगित गरेको छ । पोखरा ग्रिड महाशाखा अन्तर्गत कुँडहर १३२ केभी सबस्टेसनमा बसबार अपग्रेडेसन कार्यका लागि तय गरिएको विद्युत कटौतीको तालिका तत्कालका लागि रोकिएको हो । प्रतिकूल मौसमका कारण विद्युत भार (लोड) अत्यधिक बढेर प्राविधिक समस्या आएपछि प्राधिकरणले मर्मत कार्य रोकेको हो ।

प्राधिकरणले पुस १८ गतेदेखि पुस २० गतेसम्म बिहान ६:३० बजेदेखि ११:०० बजेसम्म १३२ केभी बसबार तथा सम्पूर्ण ११ केभी फिडरहरू सटडाउन गर्ने तालिका सार्वजनिक गरेको थियो । तर, शुक्रबार करिब ११ बजे कार्य सम्पन्न गरी लाइन सुचारु गर्दा प्रतिकूल मौसमका कारण अत्यधिक लोड वृद्धि भई सम्पूर्ण ११ केभी फिडरहरूमा समस्या देखिएको पोखरा वितरण केन्द्रले जनाएको छ ।

अत्यधिक लोडका कारण ‘पावर ट्रान्सफर्मर’ समेत ‘ओभरलोड’ भई ‘ट्रिप’ भएको हुँदा हाललाई सो कार्य केही दिनका लागि स्थगित गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘मौसम अनुकूल भएपछि कार्यतालिका प्रकाशित गरी सो कार्यहरू पुनः गरिने सम्पूर्ण ग्राहक महानुभावहरूमा सूचित गरिन्छ ।’

प्राधिकरणले सूचनामार्फत ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमा समेत मागेको छ । अब मौसममा पूर्ण सुधार आएपछि मात्र नयाँ तालिका सार्वजनिक गरेर सबस्टेसनको अपग्रेडेसन काम अघि बढाइने पोखरा वितरण केन्द्रले बताएको छ ।