जन्मभुमि खबर ,
पोखरा ।
तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ ।
भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकबाट गत वर्ष नदीमा खसेका दुई मध्ये एउटा बस हुन सक्ने आशंका गरिएको छ । नदीमा बेपत्ता भएको ठाउँबाट २०० मिटरनजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोलगत्तै बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि खन्ने काम भइरहेको छ । उनका अनुसार, नीलो रङको देखिएको र नदीमा हराएको गणपति डिलक्स बसको रङसँग मिलेकाले सोही बस हुन सक्ने सम्भावना छ । यद्यपि, बस निकालेपछि मात्र यकिन भन्न सकिने उनले बताए ।
०८१ असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित दुई बस त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।
वाग्मती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र वाग्मती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा बेपत्ता भएका थिए ।
दुई बसमा सवार ६२ जनामध्ये ११ जनाको शव फेला परेको थियो । तीनजना घाइते भएका थिए ।
घटनामा ५१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।