जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँ शुक्लागण्डकी हत्या प्रकरणः अनुसन्धान गर्न प्रदेशको टोली परिचालन

जन्मभुमि खबर ,

पोखरा ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ स्थित कसेरीघाटमा भएको ३ जनाको हत्याबारे अनुसन्धान गर्न प्रदेशको टोली परिचालन गरिएको छ ।

शनिवार निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्र परिसरमा दुई जना पुरुष र त्यहाँबाट करिब ७ सय मिटर पर खोलामा ‘माया’ भनेर चिनिएकी महिलाको शव भेटिएको थियो ।

तनहुँ शुक्लागण्डकी प्रकरणः अझै खुलेन दुई जनाको पहिचान

तिनैजनालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मृत भेटिएका मध्ये शुक्लागण्डकी–११ पाल्पालीछाप घर भएका ४० वर्षीय नारायण बिकको सनाखत भएको छ ।

अर्का पुरुष र महिलाको सनाखत भएको छैन । महिला तनहुँकै स्थानीय भएको र आफन्तलाई सनाखत गर्न बोलाइएको गण्डकी प्रदेशका डीआईजी दिनेश आचार्यले बताए । सनाखत नभएका अर्का पुरुषलाई स्थानीयहरू ‘राजकुमार’ भनेर बोलाउँथे ।

घटना अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतहरूलाई परिचालन गरिएको छ । जिल्लाको टिमलाई सहयोग गर्न प्रदेशबाट पनि थप टिम परिचालन गरिएको डीआईजी आचार्यले बताए ।

सनाखत भएसँगै नारायण बिकको शव पोस्टमार्टम गरिएको छ । अन्य दुई जनाको शव पाेस्टमार्टम गर्न बाँकी रहेको तनहुँका एसपी टेक बहादुर कार्कीले जानकारी दिए ।

हत्या गरिएका तिनैजना फोहोर सङ्कलक हुन् । दिनभर फोहोर सङ्कलन गर्ने उनीहरू राति घटनास्थलमा टहरामा बस्ने गरेका थिए ।

नारायण बिक पनि दिनभर फोहोर सङ्कलन गरेर राति  निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रमा सुरक्षा गार्डको काम गर्दै आएका थिए ।

नारायण बिकको टाउको र पेटमा धारिलो हतियारको चोट देखिएको छ । राजकुमार र मायाको घाँटीमा चोट देखिएको एसपी कार्कीले जानकारी दिए ।

तनहुँको शुक्लागण्डकीमा ३ जनाको शव फेला, हत्याको आशङ्का