जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

जन्मभुमि खबर ,

पोखरा ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्।

बुधबार दिउँसो २ बजेको प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्।

२४ घन्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको परमादेशपछि मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने बताएका थिए। तर, विश्वासको मत पाउने अवस्था नदेखेपछि मुख्यमन्त्रीले विपक्षी दलहरूप्रति रोषयुक्त मन्तव्य प्रकट गर्दै उनले राजीनामा दिएका हुन्।

कात्तिक २३ को मितिमा मुख्यमन्त्री नियुक्त एमाले मधेस प्रदेश संसदीय दलका नेता यादवले कात्तिक २४ को बिहान महोत्तरीको बर्दिबासस्थित एक होटलमा शपथ लिएका थिए।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट मुख्यमन्त्री नियुक्त भएको पत्र पाएर उनले शपथ लिएका थिए। उनलाई प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेपछि ७ दलका सांसदहरू सर्वोच्च अदालत गएका थिए।

सोमबार सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो।

सोही अनुसार बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो।

तर, बैठकमा सरकारका कोही प्रतिनिधि उपस्थित नभएपछि बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो।

दिउँसो २:३० बजे सुरू भएको बैठकमा भने विपक्षी दलहरू अनुपस्थित रहेका थिए। विपक्षी दलहरू अनुपस्थित रहेको घटनालाई मुख्यमन्त्री यादवले आफूसँग आँखा जुधाउने हिम्मत नभएर विपक्षीहरू अनुपस्थित नभएको आरोप लगाएका थिए।

१०७ सदस्यीय प्रदेश सभामा सरकारलाई टिकाइ राख्न बहुमतका लागि ५४ मत चाहिन्छ।

सबैभन्दा  ठूलो दल एमालेसँग सभामुखसहित जम्मा २५ सांसद मात्रै छन्।  जसमा एक सांसद निलम्बित छन्।